२४ असार, काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने औपचारिक स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
सरकारको निर्णयसँगै गेटा अस्पताल अब उपचार सेवासँगै स्वास्थ्य शिक्षा र जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास हुने बाटो खुलेको छ। यसले सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि शिक्षण अस्पतालका रूपमा सञ्चालनको माग हुँदै आएको गेटा अस्पतालका लागि मन्त्रिपरिषद्को यो निर्णयलाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।





