ब्रेकिङ न्युज

सरकारले एकै दिन गर्‍यो ८ निर्णय, सूचीमा के–के परे ?

२४ असार, काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका हुन्।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुलुकको नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न पनि स्वीकृति प्रदान गरिएको छ।

सरकारका अनुसार बैठकमा प्रशासन, स्वास्थ्य, विकास तथा समसामयिक सरकारी कार्यसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गरिएको छ। मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरू पनि सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन प्रक्रियामा अघि बढाइने जनाइएको छ।

सरकारले सार्वजनिक गरेका निर्णयहरू प्रशासनिक सुधार, स्वास्थ्य सेवा विस्तार र सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित रहेको जनाएको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत

४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत

५.कारागार नियमावली: ’कारागार नियमावली, २०८३’ स्वीकृत

६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत

७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने