२४ असार, काठमाडौं । प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा भएको घम्साघम्सीबारे गठित जाँचबुझ समितिले आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ। समितिले मर्यादाविपरीत गतिविधिमा संलग्न सांसदहरूको विवरण समेट्दै उनीहरूमाथि कारबाही गर्ने वा नगर्ने निर्णय सभामुखले नै लिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले घटनाका क्रममा भएको भौतिक क्षति, सांसदहरूको गतिविधि तथा आगामी दिनमा संसद्लाई थप मर्यादित र व्यवस्थित बनाउने उपायबारे अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो।
समितिका संयोजक अधिकारीका अनुसार घटनामा ठूलो भौतिक क्षति नभेटिएको निष्कर्ष निकालिएको छ। समितिको मुख्य कार्यादेश पनि क्षतिको अवस्था मूल्यांकन गर्नु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव दिनु रहेको उनले बताए।
संसद् सचिवालय स्रोतका अनुसार प्रतिवेदनमा बैठकका क्रममा डेस्क र कुर्सीमाथि चढ्ने, रोष्ट्रमतर्फ जान खोज्ने तथा सभाकक्षमै भिडियो संवाद गर्ने सांसदहरूको गतिविधि उल्लेख गरिएको छ। भिडियो अध्ययनका आधारमा नेकपा एमालेकी सांसद रिंगला यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरीलगायतका गतिविधि पनि प्रतिवेदनमा समेटिएको स्रोतको भनाइ छ।
समितिले प्रतिनिधिसभा नियमावलीअनुसार सांसदको आचरणसम्बन्धी आवश्यक निर्णय गर्ने अधिकार सभामुखमै रहने भएकाले कारबाही, सचेत गराउने वा अन्य कदम चाल्ने विषय सभामुखले नै टुंग्याउनु उपयुक्त हुने सुझाव दिएको छ।
प्रतिवेदनमा नेपाल प्रहरीले तयार पारेको मुचुल्कालाई पनि समावेश गरिएको छ। उक्त मुचुल्कामा बैठकका क्रममा माइक फालिएको, कुर्सी सारिएको तथा अन्य घटनाको विवरण उल्लेख छ।
यसबाहेक समितिले संसद्को मर्यादा र अनुशासन सुदृढ बनाउन सांसदहरूलाई नियमित अभिमुखीकरण तथा तालिम सञ्चालन गर्न पनि सुझाव दिएको छ।





