२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी कार्यदलबाट राजनीतिक दलहरू अन्ततः बाहिरिने अवस्था आउने कुरा आफूहरूले वैशाखमै अनुमान गरिसकेको बताएका छन्।
बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले त्यसै कारण कांग्रेसले कार्यदलमा प्रतिनिधि नपठाई आफ्नै ढंगले संविधान संशोधनबारे छलफल अघि बढाएको बताए।
उनका अनुसार संविधान संशोधनलाई प्रभावकारी बनाउन कांग्रेसले सुरुदेखि नै दुई विकल्प अघि सारेको थियो। पहिलो, सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश तथा संवैधानिक विज्ञहरू सम्मिलित स्वतन्त्र समिति गठन गर्ने, र दोस्रो, संसद्भित्रै विशेष समिति बनाएर प्रक्रिया अगाडि बढाउने।
थापाले संविधान संशोधन जस्तो संवेदनशील विषयलाई स्पष्ट प्राथमिकता र चरणबद्ध ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। संविधानले नै पुनरावलोकन गर्नुपर्ने भनी उल्लेख गरेका विषयलाई पहिलो चरणमा संशोधन गरी त्यसपछि मात्रै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयतासम्बन्धी विषयमा छलफल गर्न उपयुक्त हुने उनको भनाइ थियो।
सबै विषयलाई एकैपटक संशोधनका लागि खोल्ने प्रयासले देशलाई थप जटिल राजनीतिक अवस्थातर्फ धकेल्न सक्ने चेतावनी दिँदै उनले सहमति र विश्वासको वातावरण निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।





