२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनलाई हतार वा भावनामा बगेर अघि बढाउन नहुने चेतावनी दिएका छन्। सबै विषयलाई एकैचोटि संशोधन गर्न खोजिए मुलुक फेरि राजनीतिक जटिलतामा फस्न सक्ने भन्दै उनले प्राथमिकता निर्धारण गरेर चरणबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया सहमति, संयमता र स्पष्ट प्राथमिकतामा आधारित हुनुपर्ने बताए। उनका अनुसार संविधानले पुनरावलोकन गर्नुपर्ने उल्लेख गरेका विषयलाई पहिलो चरणमा सम्बोधन गरी त्यसपछि मात्रै अन्य जटिल विषयमा प्रवेश गर्नु उपयुक्त हुन्छ।
थापाले भारतीय संविधानका प्रमुख निर्माता भीमराव अम्बेडकरले अघि सारेको ‘ग्रामर अफ एनार्की’ को अवधारणालाई स्मरण गर्दै संविधान संशोधनको दायरालाई अनियन्त्रित रूपमा खोल्दा अराजकता निम्तिन सक्ने चेतावनी दिए। संविधान निर्माणको मर्म र ऐतिहासिक पृष्ठभूमिलाई बुझेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सरकारलाई असहज बनाउने उद्देश्य कांग्रेसको नरहेको उल्लेख गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सहकार्य गरेर अघि बढ्न पार्टी तयार रहेको बताए। संविधान निर्माणको मूल नेतृत्व कांग्रेसले गरेको दाबी गर्दै त्यसको संरक्षण र सुदृढीकरणमा आफ्नो विशेष जिम्मेवारी रहेको उनको भनाइ थियो।
थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति र प्रेस स्वतन्त्रता, विधिको शासन तथा मानव अधिकारजस्ता संविधानका आधारभूत सिद्धान्तमा कांग्रेसले कुनै पनि अवस्थामा सम्झौता नगर्ने स्पष्ट पारे। उनका अनुसार यी संविधानका आधारस्तम्भ भएकाले तिनलाई थप मजबुत बनाउन सकिए पनि कमजोर बनाउने कुनै प्रयास स्वीकार्य हुने छैन।





