अन्तर्राष्ट्रिय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

२५ असार, काठमाडौं ।  चीनको पूर्वी प्रान्त फुजियानमा एक जुत्ता कारखानामा आगलागी भएको छ । आगलागी भएको भवनमा धेरै व्यक्तिहरू फसेको र कैयौँ हताहत भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । घटनामा कति व्यक्ति परेका छन् भन्ने जानकारी तत्काल दिन असम्भव रहेको उद्धार कार्यमा घटनास्थलमा पुगेका अधिकारीहरूले बताएका छन् । क्वानझाउ शहरको दमकल तथा उद्धार विभागका अनुसार जिनजियाङ शहरको चेन्डाई नगरको जियान्टाउ गाउँमा रहेको कारखानामा दिउँसो १२ः०४ बजे आगो लागेको थियो ।

समाचार तयार गर्दासम्म आगो नियन्त्रणको काम जारी रहेको थियो भने घटनास्थलमा ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए । सिन्ह्वालाई प्राप्त जानकारी अनुसार भीषण आगलागीका कारण उद्धारकर्मीहरू प्रभावित क्षेत्रभित्र प्रवेश गरेर थप खोजी कार्य गर्न कठिनाई भएको छ ।

जुत्ता कारखानाको आगलागीपछि तत्कालै चिनियाँ राष्ट्रपति सी चिनफिङले अधिकारीहलाई घटनालाई तत्काल नियन्त्रणमा ल्याउन यथासम्भव उपाय अवलम्बन गर्न र आगलागीमा फसेकाहरूलाई सावधानीपूर्वक उद्धार गर्न निर्देशन दिएको छ । उनले पूर्ण प्रयासका साथ खोज तथा उद्धार कार्य गर्न, दुर्घटनाको कारण पहिल्याउन र घटनाका दोषीउपर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।