अन्तर्राष्ट्रिय

अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने

२५ असार, काठमाडौं ।  अमेरिकाले जर्मनीलाई लामो दूरीको टोमाहक क्रुज मिसाइल बिक्रीको अनुमति दिएको जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार बताएका छन्। यसअघि अमेरिकाले जर्मनीलाई टोमाहक दिने वा नदिने बिषयमा केही आशङ्का थियो ।

“अङ्कारामा भएको नाटो बैठकको अवसरमा हामीले अमेरिकी सरकारसँग सहमति गरेका छौँ । हामीले अमेरिकी टोमाहक मिसाइल किन्नेछौँ र जर्मनीमा तैनाथ गर्नेछौँ,’ मर्जले संसद्मा गरेको सम्बोधनमा भने।

“यो कदमले ‘हाम्रो रक्षामा महत्वपूर्ण रणनीतिक खालीपन पूर्ति हुनेछ,” उनले भने।

उनले भने, “आवश्यकता अनुसार हामी आफ्नै युरोपेली प्रणाली विकास गर्न त्यसलाई युरोपमा तैनाथ गर्न काम गर्नेछौँ।”

मर्जले टोमाहक कहिले आपूर्ति हुन्छ भन्ने बारे केही बताएनन्।

टोमाहक मुख्य रूपमा पनडुब्बी र युद्धपोतबाट प्रक्षेपण गरिन्छन् र एक हजार ६०० किलोमिटरभन्दा बढीको दूरीसम्म पुग्न सक्छन् ।

जर्मन सरकारका स्रोतका अनुसार दुवै देशका रक्षा मन्त्रीहरूले मङ्गलबार टोमाहक मिसाइल सम्झौताका लागि ‘लेटर अफ इन्टेन्ट’ मा हस्ताक्षर गरेका थिए । यसअघि मर्ज र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उच्च सुरक्षा अधिकारीहरूबीच टोमाहकबारे वार्ता भएको थियो।

सम्झौतामा अमेरिकाले अगस्टसम्म टोमाहक मिसाइल र जमिनबाट मार हान्ने ‘टाइफुन लन्चर’ बिक्रीको औपचारिक अनुमति दिने प्रतिबद्धता गरेको छ । तर कति मिसाइल किन्ने भन्ने सङ्ख्या गोप्य राखिनेछ।

बर्लिनले अमेरिकी टोमाहकजस्तै लामो दूरीका क्रुज मिसाइलको तैनाथीलाई रुसविरुद्धको आफ्नो प्रतिरोध रणनीतिको मुख्य भाग मान्छ ।
–––