समाचार

आत्मदाहअघि गणेश र नगर प्रहरीबीच के भएको थियो ?

२६ असार, काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी एक महिला नगर प्रहरीबीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर पार्किङ गरिएको मोटरसाइकललाई लिएर दुवै पक्षबीच विवाद भएको देखिन्छ। महिला नगर प्रहरीले निषेध गरिएको स्थानमा मोटरसाइकल किन रोकेको भन्दै प्रश्न गरेकी छन्।

भिडियोमा गणेश नेपाली मोटरसाइकलमै बसेर त्यसमा लक किन लगाइएको भन्दै जिज्ञासा राखिरहेका देखिन्छन्। त्यसको जवाफमा महिला नगर प्रहरीले नियमविपरीत स्थानमा मोटरसाइकल राखेपछि कारबाहीस्वरूप लक लगाइएको बताउँदै त्यसलाई लिएर प्रतिवाद गरेकी छन्।

यस घटनापछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।

हाल सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। यद्यपि, भिडियोले घटनाको एउटा अंश मात्र देखाउने भएकाले सम्पूर्ण घटनाक्रमबारे आधिकारिक छानबिनबाट थप तथ्य बाहिर आउन बाँकी छ।

यस्तो छ उनीहरूबीचको भनाभन

महानगर प्रहरी- कहाजानु हुन्छ जानू ।
गणेश नेपाली- किन ?
महानगर प्रहरी – किन भागेर आ’को ?
गणेश नेपाली – कहाँ रोक्या थियो भन्नु न ?
महानगर प्रहरी – माथि रोक्याथ्यो
गणेश नेपाली – बाइकमा बस्दा लक लगाउँछ ?
महानगर प्रहरी – भन्या नमान्ने ? मिल्दैन भनेँ त मैले । के गर्नुहुन्छ भनेर किन भन्नुभयो ?
गणेश नेपाली – म हिँड्न लाको..
महानगर प्रहरी – मेरो मोबाइल झारेर किन भागेर आ’को
गणेश नेपाली – तपाईंले किन लक ल’गा तनि ?
महानगर प्रहरी – नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के लगाउनु?
गणेश नेपाली – कोले ?
महानगर प्रहरी- माला लाइदिने ?