समाचार

बिहारको कोचिङ युद्धको असर विराटनगरसम्म

२६ असार, काठमाडौं । भारतको बिहारमा चर्चित दुई कोचिङ सेन्टरबीचको विवादसँग जोडिएका भारतीय नागरिक प्रिन्स यादवको विराटनगरमा भएको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान टुंग्याएको छ।

विराटनगरमा शंकास्पद अवस्थामा मृत भेटिएका प्रिन्सको मृत्यु हत्या वा अन्य आपराधिक कारणबाट नभएको प्रहरी अनुसन्धानले देखाएको छ। पोस्टमार्टम र भिसेरा परीक्षणबाट उनको मृत्यु प्राकृतिक कारणले भएको निष्कर्ष निकालिएको हो।

प्रहरीका अनुसार प्रिन्स मुटुसम्बन्धी समस्याबाट पीडित थिए र नियमित औषधि सेवन गर्दै आएका थिए।

प्रिन्सको मृत्यु भएपछि उनीसँगै रहेका चार भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो।

तर मृत्युमा आपराधिक संलग्नताको प्रमाण नभेटिएपछि उनीहरूलाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालले जानकारी दिइन्।

प्रिन्स यादव भारतको पटनामा सञ्चालित ज्ञानबिन्दु एकेडेमीसँग जोडिएका व्यक्ति थिए। ज्ञानबिन्दुका सञ्चालक रोशन आनन्द र चर्चित शिक्षक फैजल खान (खान सर) बीच लामो समयदेखि विवाद चल्दै आएको थियो।

गत जुन २ मा खान ग्लोबल स्टडिजमा भएको गोलीकाण्डपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको थियो। सोही क्रममा आरोपित भनिएका प्रिन्स नेपाल प्रवेश गरी विराटनगर पुगेका थिए।

प्रहरीका अनुसार प्रिन्स जेठ २० गते साथीहरूसँग विराटनगर आएका थिए। सुरुमा मेट्रो होटलमा बसेका उनी पछि विराटनगर–१० स्थित शुभ होटलमा सरेका थिए।

केही दिनपछि उनी होटलमै अचेत अवस्थामा भेटिएपछि साथीहरूले राति १०:५५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो।

भारतका सञ्चारमाध्यमका अनुसार फैजल खान र रोशन आनन्द कुनै समय सँगै अध्यापन गर्थे। पछि आफ्नै–आफ्नै कोचिङ सेन्टर सञ्चालन गरेपछि उनीहरूबीच प्रतिस्पर्धा र विवाद बढ्दै गएको थियो। यही विवादले पछिल्लो समय गोलीकाण्डको रूप लिएको थियो, जसको मुद्दा भारतमै विचाराधीन छ।