२६ असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । स्थानीय ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरीका अनुसार घटनामा मण्डलको शरीरको अधिकांश भाग जलेको छ । उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।
प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार घरायसी विवादपछि मण्डलले यस्तो कदम उठाएको हुन सक्ने देखिएको छ । उनी घरबाट करिब दुई सय मिटर टाढा पुगेपछि आफ्नै शरीरमा आगो लगाएका थिए ।
घटनाका बेला घरमा परिवारका अन्य सदस्य नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी सार्वजनिक गरेका छन् ।





