२८ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ। आइतबार दिउँसो भएको यो हृदयविदारक घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्। रौतहटको जिगरवा स्थायी घर भएका अवास शेख करिब ३० वर्षदेखि गोलबजारमा परिवारसहित बस्दै आएका छन्। उनी कवाडी संकलन गरेर परिवारको जीविकोपार्जन गर्दै आएका थिए।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे तीनै जना घरबाट खेल्न निस्किएका थिए। खेल्ने क्रममा पशु हाटबजार परिसरमा रहेको पानी भरिएको खाल्डोमा नुहाउन पसेपछि उनीहरू डुबेका हुन्। उक्त खाल्डो गाई, गोरु र भैंसीजस्ता पशुलाई पानी खुवाउन बनाइएको स्थान भएको बताइएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।
घटनाले एकै क्षणमा परिवारका तीन सन्तान गुमेपछि शेख परिवार शोकमा डुबेको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




