२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवासको प्रवेशमार्ग अवरुद्ध हुने गरी राखिएको थियो। गाडीका कारण मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था बनेको बताइएको छ।
यसअघि सोही दिन बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यस्तै ढंगले शंकास्पद गाडी पार्किङ गरिएको थियो। ती गाडीहरू प्रहरीले क्रेनको सहायता लिएर हटाइसकेको छ।
एकै दिन सञ्चारगृह र प्रमुख राजनीतिक नेताको निवास अगाडि यस्ता गाडी भेटिएपछि घटनालाई लिएर सुरक्षा चासो बढेको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





