ब्रेकिङ न्युज

८ महिनाकै न्यून बिन्दुमा झर्‍यो नेप्से

२९ असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीव्र गिरावटसँगै करिब आठ महिनाकै न्यून स्तरमा पुगेको छ। नेप्से ३०.६० अंकले घटेर २,५७० अंकमा सीमित भएको हो, जुन गत मंसिर ४ यताकै सबैभन्दा कम स्तर हो।

बजारमा अधिकांश समय बिक्री दबाब देखिँदा लगानीकर्ताको मनोबल कमजोर बनेको थियो। यस दिन २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।

गिरावट सबै समूहमा देखिएको छ। व्यापार समूहमा सबैभन्दा धेरै २.३० प्रतिशतको गिरावट आएको छ। त्यसपछि होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, फाइनान्स, जीवन बीमा, बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स, निर्जीवन बीमा, लगानी र अन्य समूहका सूचक पनि ओरालो लागेका छन्।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिनको ६ अर्ब ८६ करोड रुपैयाँको तुलनामा सोमबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन वैशाख ९ यताकै उच्च कारोबार रकम हो।

आजको कारोबारमा सामुदायिक लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले उल्लेख्य लाभ कमाउँदा, उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। त्यस्तै बुद्धभूमि हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमस्टार ऊर्जा र टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। ऋणपत्रतर्फ भने सबैभन्दा बढी कारोबार भएको छ।