२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाउँदै संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
पार्टीले मिडिया हाउस र पत्रकारलाई त्रासमा पार्ने उद्देश्यले गरिएका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। सञ्चारमाध्यमको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि असर पार्ने यस्ता घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि रास्वपाले माग गरेको छ।
रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रलाई दबाब वा भयको वातावरणबाट मुक्त राख्नुपर्ने भन्दै पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको पक्षमा आफू दृढ रहेको जनाएको छ।
यसअघि सोमबार बिहान काठमाडौंका विभिन्न सञ्चारगृहका कार्यालय अगाडि शंकास्पद गाडी राखिएको भेटिएपछि प्रहरीले ती गाडीहरू नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।






