ब्रेकिङ न्युज

नेपालसँग विदेशी मुद्रा कति छ ? राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ तथ्यांक

२९ असार , काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तमा २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको सञ्चिति अहिले उल्लेख्य रूपमा वृद्धि भएको हो।

अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति बढेर करिब २४ अर्ब ६८ करोड डलर पुगेको छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग ३३ खर्ब ३० अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब २५ अर्ब रुपैयाँ बराबर रहेको छ।

राष्ट्र बैंकका अनुसार हाल कायम विदेशी मुद्रा सञ्चितिले देशको १९.१ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। त्यस्तै, भारतीय मुद्राको हिस्सा कुल विदेशी विनिमय सञ्चितिमा २१.५ प्रतिशत रहेको छ।