ब्रेकिङ न्युज

अनलाइनखबर गेटमा भेटिएको गाडी चालकले धम्कीपूर्ण प्रतिक्रिया दिएपछि…

२९ असार , काठमाडौं । अनलाइनखबरको कार्यालय गेट अगाडि सोमबार बिहान पार्किङ गरिएको शंकास्पद भनिएको गाडीको स्वामित्व गोकर्णेश्वरका एक आँखा क्लिनिक सञ्चालकसँग रहेको खुलेको छ।

बा १२ च ८५४५ नम्बरको उक्त गाडी गोकर्णेश्वरका सुनिल पौडेलको नाममा दर्ता रहेको यातायात व्यवस्था कार्यालयको विवरणबाट खुलेको हो। पौडेलले गोकर्णेश्वर–९ मा आँखा क्लिनिक तथा अप्टिकल हाउस सञ्चालन गर्दै आएका छन्।

गाडीबारे जानकारी लिन खोज्दा पौडेलले उक्त सवारी आफूले नभई अर्कै व्यक्तिले चलाउँदै आएको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर दिएका थिए। त्यसपछि सम्पर्क गर्दा ती व्यक्तिले आफ्नो परिचय नखुलाई अनलाइनखबरकर्मीलाई फोनमार्फत आक्रोशपूर्ण र धम्कीपूर्ण शैलीमा प्रतिक्रिया दिएका थिए।

उनले कार्यालयको गेट अगाडि गाडी राखिएको विषयमा प्रश्न उठाउनु गलत भएको भन्दै विवाद गरेका थिए। फोन संवादका क्रममा उनले गाडी पार्किङलाई लिएर सञ्चारमाध्यमले शंकास्पद भनेर समाचार बनाएकोप्रति असन्तुष्टि जनाएका थिए।

यसअघि सोमबार बिहान काठमाडौंका विभिन्न सञ्चारगृहका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले ती गाडीहरू नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइरहेको छ।