आर्थिक

अर्थतन्त्रमा अर्को सकारात्मक संकेत

२९ असार, काठमाडौं । नेपालमा भित्रिने विदेशी मुद्रा बढ्दा मुलुकको शोधनान्तर स्थिति थप बलियो बनेको छ। चालु आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर बचत ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। यस वर्षको बचत अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो।

डलरमा हिसाब गर्दा पनि शोधनान्तर स्थिति ६ अर्ब ३९ करोड अमेरिकी डलर बचतमा रहेको छ। रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले मुलुकको बाह्य क्षेत्र कारोबारमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा नेपालको चालु खाता पनि उल्लेख्य बचतमा रहेको छ। चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँको तुलनामा ठूलो सुधार हो।

यस्तै, चालु आर्थिक वर्षमा खुद ट्रान्सफर रकम १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेर २२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो।

राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत बढ्नुले मुलुकमा भित्रिने विदेशी मुद्रा बाहिरिनेभन्दा बढी रहेको देखाउँछ, जसले नेपालको बाह्य आर्थिक अवस्था मजबुत हुँदै गएको संकेत गर्छ।