समाचार

निलम्बन फुकुवा हुँदै संगीता पहाडी अर्याल पुनः टेलिकमको नेतृत्वमा

२९ असार, काठमाडौं । नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल विशेष अदालतबाट आरोपमा पूर्ण सफाइ पाएपछि पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्किएकी छन्।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गरिएको हो। त्यससँगै उनी नेपाल टेलिकममा पुनर्बहाल भएकी हुन्।

पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै अर्यालले सत्य अन्ततः स्थापित भएको उल्लेख गर्दै संस्था र देशको हितमा निडर भएर काम गर्न आग्रह गरिन्। उनले कम्पनीमा आवश्यक प्रक्रियागत सुधार गर्दै सेवालाई अझ प्रभावकारी, पारदर्शी र ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

उनले आफ्नो अनुपस्थितिमा संस्थाको नेतृत्व सम्हाल्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै नेपाल सरकारको नीति र निर्देशनअनुसार नेपाल टेलिकमको विश्वसनीयता र सेवा गुणस्तर थप सुदृढ बनाउने बताइन्।