३१ असार, काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। पार्टीले प्रदेश सरकारमा सहभागी आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले जनाएको छ।
कांग्रेसका शीर्ष नेताहरूबीच लगातार भएको छलफलपछि एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा पार्टी पुगेको हो। प्रदेश सरकार सञ्चालनका क्रममा एमालेको व्यवहार सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै कांग्रेसले गठबन्धनबाट बाहिरिने निर्णय गरेको बताइएको छ।
यसैबीच, कर्णाली प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेको छ। यी घटनालाई प्रदेशस्तरको नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।
पार्टी स्रोतका अनुसार अब बाँकी प्रदेशहरूमा पनि एमाले–कांग्रेसबीचको सहकार्य औपचारिक रूपमा अन्त्य गरिनेछ। कांग्रेसले नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना अध्ययन गरिरहेको छ। यदि नयाँ समझदारी हुन नसके पार्टी सातै प्रदेशमा प्रतिपक्षी भूमिकामा बस्ने तयारीमा रहेको जनाइएको छ।





