ब्रेकिङ न्युज

समकक्षता पाएका ११४ डिग्री फेरि किन खारेज भए ?

३१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको आधारमा जारी गरिएका ११४ वटा समकक्षता प्रमाणपत्र रद्द गरेको छ।

केन्द्रले बुधबार सूचना जारी गर्दै तोकिएको ३५ दिनभित्र आवश्यक प्रमाण र स्पष्टीकरण पेस गर्न भनिए पनि त्यसबाट समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार नदेखिएकाले प्रमाणपत्र खारेज गरिएको जनाएको हो।

त्रिविले ‘उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२’ को विनियम २१ अनुसार ती समकक्षता रद्द गरेको जनाएको छ।

रद्द गरिएका समकक्षतामध्ये भारतको मेघालयस्थित सीएमजे विश्वविद्यालयबाट डिग्री लिएका १३ जना, मणिपुरस्थित सङ्गाई इन्टरनेसनल विश्वविद्यालयका ९८ जना, झारखण्डस्थित प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयका १ जना र टेक्नो ग्लोबल विश्वविद्यालयका २ जनाको रहेका छन्।

भारतको सम्बन्धित सरकारी निकायले ती विश्वविद्यालयका केही शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अवैधानिक ठहर गरेपछि त्रिविले आफूले प्रदान गरेका समकक्षताको विषयमा छानबिन समिति गठन गरेको थियो।

छानबिनका क्रममा केही विद्यार्थी सम्पर्कमा आए पनि पेस गरिएका कागजात र प्रमाणका आधारमा समकक्षता कायम राख्न नसकिने निष्कर्ष निकाल्दै त्रिविले सबै ११४ प्रमाणपत्र रद्द गरेको हो।