३२ असार, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–२ निवासी पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन् ।
उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनुवाइमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको थियो।
तर सो फैसलाविरुद्ध नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कारागार कार्यालय जलेश्वरमा पठाइएको थियो ।
यसैबीच, सर्वोच्च अदालतबाट २०८३ असार ३२ गते जारी भएको पत्र अनुसार लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने कानुनी आधार नरहेको अवस्थामा तत्काल रिहा गर्न कारागार प्रशासनलाई निर्देशन दिइएको छ ।
सर्वोच्च अदालतको उक्त आदेशपछि महोत्तरी जिल्ला अदालत र कारागार कार्यालय जलेश्वरले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गरेको जनाएको छ ।





