३२ असार, काठमाडौं । कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कपिलवस्तु जिल्ला अदालतले कुटपिटसम्बन्धी आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सांसद शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको आक्रमणमा संलग्न रहेको आरोप लागेको छ। घटनाबारे पीडित पक्षले दिएको जाहेरीका आधारमा शाहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरीले जनाएको छ।
कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा सांसद शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
पीडित शर्माले सांसद शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरी आफूलाई कुटपिट गरेको दाबी गरेका छन्। पीडित पक्षले यसअघि पनि आक्रमणमा संलग्न व्यक्तिविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले बेवास्ता गरेको गुनासो गरेको थियो।





