ब्रेकिङ न्युज

विष्णु पौडेलविरुद्ध २० करोड ९० लाखको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

३२ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा सहयोगी (मतियार) को भूमिका खेलेको आरोपमा विभागले पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाएको हो।

विभागले पौडेलमाथि करिब २० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ। साथै, उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न माग गरिएको विशेष अदालतको सूचनामा उल्लेख छ।

मुद्दामा संलग्न अन्य व्यक्ति तथा कम्पनीहरूले पनि सम्पत्ति शुद्धीकरण प्रक्रियामा सहयोग गरेको आरोप विभागले लगाएको छ। अब यस विषयमा विशेष अदालतमा कानुनी प्रक्रिया अघि बढ्नेछ।