ब्रेकिङ न्युज

मौद्रिक नीतिअघि प्रधानमन्त्रीको चासो, गभर्नरसँग भयो यस्तो छलफल

३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच करिब एक घण्टा लामो भेटवार्ता भएको छ। भेटमा मुलुकको आर्थिक अवस्था, सेयर बजारको स्थायित्व र लगानी वातावरण सुधारका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमा आवश्यक लचकता अपनाउन गभर्नर पौडेललाई आग्रह गरेका थिए।

उनले सेयर बजारमा लगानी गर्ने सर्वसाधारणको मनोबल बढाउने, उद्यमीलाई सहज कर्जा उपलब्ध गराउने र उद्योग–व्यवसाय विस्तारका लागि अनुकूल वातावरण बनाउन राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री शाहले साना तथा ठूला व्यवसायीलाई लगानी गर्न प्रोत्साहन गर्ने गरी बैंकको ब्याजदर र कर्जा प्रवाहका व्यवस्था थप उद्यममैत्री बनाउनुपर्ने बताएका थिए। साथै महिला उद्यमी तथा आर्थिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीलाई कर्जामा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

भेटमा गभर्नर पौडेलले राष्ट्र बैंकले आगामी मौद्रिक नीति समयसापेक्ष, व्यावसायिक र लचिलो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सरकार र राष्ट्र बैंकको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु रहेको भन्दै उनले नीतिगत रूपमा आवश्यक सहजीकरण गर्ने बताए।

प्रधानमन्त्री र गभर्नरबीचको यो भेटलाई आगामी मौद्रिक नीति, सेयर बजार र कर्जा विस्तारका विषयमा चासोका साथ हेरिएको छ।