अन्तर्राष्ट्रिय

पूर्वी अफगानिस्तानमा बाढी, ४० जनाभन्दा बढीको मृत्यु

७ साउन, काबुल । पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्यांकन गर्दै आपत्कालीन सहायता परिचालन गरिरहेका छन् ।

प्रभावित परिवारका लागि अस्थायी आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा, अत्यावश्यक घरायसी सामग्री तथा मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

मानवीय सहायता संस्थाहरूले राहत सामग्री पुर्‍याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेका छन् ।

तर क्षतिग्रस्त सडक र कठिन भौगोलिक अवस्थाका कारण केही बढी प्रभावित समुदायसम्म सहायता पुर्‍याउन कठिनाइ भइरहेको राष्ट्रसंघले जनाएको छ ।