७ साउन, काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको युट्रेच्टस्थित स्पोर्टपार्क मार्स्खाल्करवेर्टमा भइरहेको खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो।
नेपालको इनिङ्समा आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। यस्तै गुलशन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ र सोमपाल कामीले १० रनको योगदान दिए। करण केसी १३ रनमा अविजित रहे।
नेदरल्यान्ड्सका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै नेपालको मध्यक्रमलाई दबाबमा राखेका थिए। घरेलु टोलीका एलेक्स रोय र रोयलोफ भान डर मेर्वेले समान तीन-तीन विकेट लिए भने लोगान भान वीकले दुई विकेट हात पारे। केल क्लेइनले एक खेलाडीलाई पभेलियन फर्काए।
अब नेदरल्यान्ड्सले जितका लागि १५८ रनको लक्ष्य पछ्याउनेछ।





