चरिकोट । विसं २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ ।
राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता र गोकर्णप्रसाद भण्डारी आफ्नै पहलमा संकलन गर्नुभएको रु ६० हजारसहित पाठ्य सामग्री र स्कूल झोला आज हिमालय मावि चिलंखामा विद्यालयका शिक्षक–शिक्षिका र वडाध्यक्ष मधुकर गुरुङको रोहबरमा ती बालबालिकाका बुबा कृष्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो ।
पत्रकार भण्डारीले आमाको मृत्यु भएको र बुबाको शारीरिक अवस्था कमजोर भएका कारण उनीहरुका तीन छोराछोरीको पढाइ नबिग्रियोस् भनेर सहयोगका लागि पहल गरेको बताए ।
उक्त कार्यका लागि अल्पाइन पब्लिक स्कूल चरिकोटका प्रिन्सिपल उद्धव थापाले रु १७ हजार ५००, द राइजिङ स्टार बोर्डिङ स्कूलका प्रिन्सिपल उपेन्द्र अधिकारीले रु १७ हजार, झापा दमक नगरपालिका घर भएका भीमेश्वर नगरपालिकाका स्रोत व्यक्ति सोम तिवारीले १५ हजार, कालिञ्चोक गाउँपालिका वडा नं ८ सुनखानी मलेपुकी समाजसेवी बिन्दिया खड्काले रु पाँच हजार, शैलुङ गाउँपालिका वडा नं ६ भुसाफेदाकी अहेव शशी लामाले रु पाँच हजार र पाठ्य सामग्री, गोरखा जिल्ला पालुङ्टार घर निवासी हाल चरिकोटमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्यले एक वर्षका लागि कापी र कलमसहिका सामग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफेका सञ्चालक पुस्कर अधिकारीले झोला प्रदान गरेका थिए ।
उक्त भूकम्पमा परी आमा दुर्गा खड्कालाई गुमाएका र बाबु कृष्णबहादुर खड्काको कमजोर शारीरिक अवस्थाका कारण १२ वर्षीया रञ्जिता खड्का, १० वर्षीय रवीन्द्र र पाँच वर्षीया सञ्जिताको पठनपाठनका लागि समस्या भएपछि फेसबुकमार्फत पत्रकार भण्डारीले सहयोगका लागि पहल गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष मधुकर गुरुङ, पत्रकार उषा तामाङ, श्रीजन घिमिरे, समाजसेवी बिन्दिया खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।





