अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानको सम्बन्ध गम्भीर मोडमा, दुवै देश युद्धकै तयारीमा !

काठमाण्डौ । केही दिनअघि भारत अधिनस्थ काश्मिरमा आतंकवादी हमला भएर १७ जना भातीय सैनिकको मृत्यु भएपछि यसबेला भारत र पाकिस्तानबीचको सम्बन्ध निकै गम्भीर मोडमा पुगेको छ । भारतले सो आक्रमणमा संलग्न अपराधीहरुलाई पाकिस्तानले साथ दिइरहेको आरोप लगाएको छ भने पाकिस्तानले भारतको यो आरोपमा सत्यता नभएको भन्दै कडा प्रतिवाद गरिरहेको छ ।

दुवै देशबीच तीव्र आरोप प्रत्याआरोपहरु चलिरहेका छन् । हिन्दुस्तान (भारत) र पाकिस्तान छुटिए देखिनै केही न केही झमेलामा फस्दै आएका यी दुई देशबीच काश्मिरकै सवालमा समेत यसअघि पनि भीडन्तहरु नभएका होइनन् तर यो पटक भने परिस्थिति तीव्र रुपमा फेरबदल भैरहेको छ । भारतले पर्यो भने पाकिस्तानसँग युद्धकै तयारी गरिरहेको छ भने पाकिस्तान पनि भारतसँग एक इन्च पनि नझुक्ने अवस्थामा तयारी अवस्थामा रहेको देखिन्छ ।

केही दिनअघि भएको भारतीय सेनामाथिको हमलालाई मात्रै भारत–पाकिस्तानको जड कारण मान्न सकिन्न । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश, दुई देशबीचको राजनीतिक–आर्थिक सम्बन्ध र सामाजिक–सांस्कृतिक सम्बन्धले पनि निकै ठूलो प्रभाव पारेको देखिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थ काश्मिरमा आतंकवादीहरुले आफ्ना १७ जना सैनिकहरुको हत्या गरिदिएपछि उनीहरु विरुद्धको कार्वाहीलाई तीव्रता दिने र जसरी पनि कार्वाहीको दायरामा ल्याउने उद्घोष गरिरहेका छन् ।

भारतीय गुप्तचर संस्थाहरुका दशकौं अघिदेखिका रिपोर्टहरुलाई नियाल्ने हो भने भारतमा हुने अधिकांश हिंसात्मक घटनाका केशहरु पाकिस्तानी भूमीसँग जोडिएर आएका छन् र अहिले प्रधानमन्त्री मोदीले दिएको कठोर अभिव्यक्ति समेत पाकिस्तानसँग लक्षित रहेको धेरैको अनुमान छ ।

भारत–पाकिस्तान सम्बन्ध
भारत र पाकिस्तानको सम्बन्ध दशकौंदेखि सुमधुर छैन । यी दुवै देशमा मुस्लिम समुदायको बाहुल्यता धेरै छ । यद्यपि, भारतमा हिन्दुहरु धेरै छन् । भारत र पाकिस्तान छुट्टिँदा यो सांस्कृतिक परिवेशमा समेत अप्रत्यक्ष आघातहरु परेको देखिन्छ । त्यसमाथि पनि काश्मिरको विषयमा यी दुई देश धेरै वर्षदेखि लडिरहेका छन् ।

जसले दक्षिण एसियाली राजनीतिक र कुटनीतिक मामला समेत प्रभावित हुने गरेको छ । भारत–पाकिस्तानबीचका अन्य सीमा सवालका विषयमा त झन् थुप्रै विवादहरु जारी छन् । पछिल्लो समय यी दुई देश विश्व महाशक्ति राष्ट्रहरुसँगको आडमा क्षेत्रीय शक्ति हुँदै विश्व शक्तिको रुपमा स्थापित हुने कोसिस समेत गरिरहेका छन् ।

भारतले आफ्ना वरिपरिका छिमेकी देशहरु लगायत एसिया र विश्वका शक्तिशाली मुलुकहरुसँग सम्बन्ध विस्तार गर्दै पाकिस्तानलाई एक्ल्याउने प्रयास गरिरहेको देखिन्छ । उसले पाकिस्तानसँग सीमाना जोडिएका देशहरुलाई समेत आफ्नो पक्षमा पार्न खोजिरहेको छ । पछिल्लो समयमा बलुचिस्तानको एउटा मानव मुद्धालाई आधार मानेर भारतले बंगलादेश, अफगानिस्तान, इरान लगायत एसियाका प्रभावशाली देशहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई एक्ल्याउने प्रयास गरिरहेको देखिन्छ । उता, पाकिस्तानले पनि चीन, रुस लगायत शक्तिशाली देशहरुको आडमा भारतलाई हायल कायल पार्ने तयारी गरिरहेको देखिन्छ ।

भारतसँगको सम्बन्धका विषयमा केही क्षेत्रीय स्तरका विवादहरुमा मुछिएको चीनले प्रत्यक्ष–अप्रत्य रुपमा पाकिस्तानलाई साथ दिइरहेको छ । भारत–चीन, चीन–पाकिस्तान र भारत–पाकिस्तानबीचका सम्बन्धहरुका आ–आफ्नै आयमहरु रहेका छन् । यी तीन मुलुकका सीमा विवादहरु समेत एक अर्कासँग साझा रुपमा जोडिएकोले चीन र पाकिस्तानको स्वार्थ मिलेको देखिन्छ ।

विश्व राजनीतिक रंगमञ्चमा चीन जता हुन्छ, रुस पनि त्यता हुनु स्वाभाविक हो किनभने यी दुई मुलुकहरुबीच परम्परागत सम्बन्ध यति घनिष्ठ छ कि, त्यसलाई तत्कालीन रुसी कम्युनिष्ट नेताहरु लेनिन, स्टालिन र चिनियाँ नेता माओको सैद्धान्तिक विश्व दृष्टिकोणले समेत एक ठाउँमा उभ्याइदिन थप मद्धत गरेको विश्लेषण गरिन्छ । यद्यपि, स्टालिन र माओको नेतृत्वकालमा चीन र रुसबीच छदम् युद्धहरु समेत नभएका भने होइनन् । त्यसर्थ, विश्व राजनीतिक परिवेशको समेत भारत र पाकिस्तानबीचको पछिल्लो द्धन्द्धमा प्रभाव परिरहेको छ । अमेरिकाले चीन र पाकिस्तानलाई विश्वबाट अलग्याउन भारतसँग थुप्रै सन्धि र सम्झौताहरु समेत गरिरहेको छ । यसले पनि यी दुई देशबीचको द्धन्द्धले दिर्घकालीन असर पार्न सक्ने अनुमान गरिदैछ ।

दुई देशबीच युद्धकै तयारी
भारत अधिनस्थ काश्मिरमा सैनिक मारिएपछि थप आक्रोशित भएको भारतमा पछिल्लो समयमा यस्ता गतिविधिहरु समेत देखिदैछन्, जसले पाकिस्तानी नागरिक विरुद्धनै जेहाद छेडिदैछ । शुक्रबार मात्र सो क्षेत्रबाट पाकिस्तानी कलाकारहरुलाई भारत छाड्न ४८ घण्टे अल्टिमेटम दिइएको छ भने त्यस्तै अन्य अदृष्य र सोच्नै नसकिने परिवेशहरु समेत निर्माण भैरहेका छन् ।

indian-army

भारतले पाकिस्तानविरुद्ध चेतावनी दिएपछि पाकिस्तानको राजधानी इस्लामावादमा शक्तिशाली लडाकु विमानहरुले सैन्य अभ्यास सुरु गर्न थालेका छन् भने भारत पनि आफ्नो तयारीमा जुटिरहेको देखिन्छ । त्यस्तै, पाकिस्तानमा रुसले समेत दुई देशका सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु गरेका खबरहरु बाहिर आइरहेका छन् ।

दुवै देशका सीमानामा सैनिकहरु तयारी अवस्थामा रहेका खबरहरु बाहिर आइरहेका छन् । यो घटनाबाट के पुष्टि हुन्छ भने भारत र पाकिस्तानको सम्बन्ध निकै संकटको घडीबाट गुज्रिरहेको छ । यस खालका सम्भावित युद्धका खतराहरुलाई रोक्न सम्बन्धित पक्षले बेलैमा ध्यान नदिएका समाचार टिप्पणीहरु समेत सुनिन थालेका छन् ।