पु.समाचार

बाह्र करोड हिनामिना गरेको भन्दै गीतकार संघका अध्यक्ष पक्राउ

कठमाण्डौ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल ठगी आरोपमा पक्राउ परेका छन् । आफु कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

कठमाण्डौको बालुवाटारस्थित आफ्नै निवासबाट अनुसन्धानका लागि उनलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । दशैँअघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबीन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैँ अघि प्रहरीमा उजुरी गरेको थियो ।

कम्पनी घाटामा देखिएपछि दुई वर्ष अघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध कम्पनीको आरोप छ । छानबीनलाई अगाडि बढाउँदा काल्पनीक ग्राहाकहरु बनाएर उनीहरुबाट रकम उठ्न बाँकी देखाउने र उठेको रकम व्यक्तिगत खर्च गर्ने गरेको देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ ।

गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालीसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्युजीक अवार्ड र सम्मानहरुसमेत पाएका छन् ।