अन्तर्राष्ट्रिय

चीन र भारतका सेना आमने सामन्ने, यसरी भड्कियो द्धन्द्ध

नयाँदिल्ली । चिनियाँ सैनिकले बुधवार लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै भारतीय भूमितर्फ बनाइरहेको नहरको काम रोकिदिएको छ । चिनियाँ सेनाले नहरको निर्माणकार्य रोकिदिएपछि त्यहाँ भारत-तिब्बत सीमा पुलिस पुगेको छ ।

उनीहरुले चिनियाँ सैनिकलाई आफ्नो सीमाबाट फिर्ता जान आग्रह गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार कयौं घन्टासम्म भारतका ७० जना र चीनका ५५ जना सैनिक आमने-सामने भएका थिए । भारतीय सेनाले भने यस्तो घटनाको इन्कार गर्दै यसलाई नियमित रुटिनको मामिलाको संज्ञा दिएको थियो ।

द हिन्दुले लेखेको समाचार अनुसार चिनियाँ सैनिकले भारतीय पक्षलाई त्यो क्षेत्रमा पूर्वाधार बनाउनुअघि आफूहरुको अनुमति लिन जरुरी रहेको बताएको थियो ।

यी दुई देशबीच सीमाक्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा सूचना आदानप्रदान गर्ने सम्झौता भएको थियो । बुधवारको घटनामा दुबै देशका सैनिकले झन्डा लगाएर पोजिशन लिएका थिए । भारतीय जवानले त्यसक्रममा चिनियाँ सैनिकलाई त्यहाँ भन्दा अघि नबढ्न पनि सचेत गराएका समाचार सार्वजनिक भएको छ ।

१९ जुलाईमा उत्तराखण्डको चमोलीमा पनि चिनियाँ सैनिकले भारतले बनाइरहेको नहरको काम रोकिदिएको थियो । त्यो बेला भारतीय सेनाले सन् २०१४ मा पनि लद्दाखको निलुङ्ग नालाको काम चिनियाँ सैनिकले मजदुरका टेन्ट भत्काइदिएका थिए ।

भारत र चीन बीच विवादित इलाका ४ हजार किलोमिटरको रहेको छ । तर चीनले भने विवादित सीमाक्षेत्र केबल २ हजार किलोमिटर मात्रै रहेको दाबी गरेको छ । शुक्रबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।