अन्तर्राष्ट्रिय

किम जोङ उनकी पत्नी गायब

एजेन्सी– उत्तरकोरियाका राष्ट्रपति किम जोङ उन र उनको परिवारसँग जोडिएर फेरि अर्को सनसनीपूर्ण समाचार बाहिर आएको छ । किम जोङ उनकी श्रीमती पछिल्ला सात महिनायता गायब भएकी छन् ।

विश्वलाई आफ्नै किसिमको प्रभावमा पार्दै आएका राष्ट्रपति उनकी श्रीमती रि सोल जू पछिल्लोपटक २८ मार्चमा किमसँगै देखिएकी थिइन् । त्यसयता उनको बारेमा कुनै कुरा बाहिर नआएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार लेखेका छन् ।

रि सोल जू प्राय आफ्ना पतिका साथ विभिन्न कार्यक्रमहरुमा देखा परिरहने गर्थिन् तर पछिल्लो निकै लामो समयसम्म उनी बाहिर नदेखिनुमा धेरै आशंकाहरु जोडिएर आएका छन् ।

रि सोल सन् २०१२ मा उत्तरकोरियाकी प्रथम महिलाको रुपमा देखिएकी थिइन् । त्यसपछि उनी हरेकपटक आफ्ना पति किमसँग सार्वाजनिक रुपमा देखिदै आएकी थिइन् ।

सञ्चारमाध्यामहरुका अनुसार रि सोल जू सन् २०१३ मा आफ्ना पति किमसँग २२ पटक देखापरेकी थिइन् भने सन् २०१४ मा १५ पटक देखापरेकी थिइन् । सन् २०१५ मा पनि बिरलै देखिएकी रि सोल सन् २०१६ को सुरुमा ३ पटक देखिएकी थिइन् ।

त्यसपछि उनी अन्तिमपटक २८ मार्चमा देखापरेकी थिइन् । अन्तिमपटक देखापर्दा उनी आफ्ना पतिसँग प्योङयाङस्थित हेल्थ कम्पेल्क्समा घुमिरहेको देखिएको थियो । त्यसयता उनी सार्वजनिक रुपमा देखापरेकी छैनन् ।

किम पत्नी रि सोलका बारेमा धेरै अड्कलहरु काटिएका छन् । पछिल्लो समयमा देखापर्दा हेल्थ कम्प्लेक्समा देखिएकोले उनी गर्भवती भएको र अहिले बच्चासहित आराम गरिरहेको हुनसक्ने आशंका गरिएको छ ।

अर्कोतर्फ किम उत्तरकोरियाको सनकी शासक भएकोले कुनै अरोपमा उनलाई मृत्युदण्डको सजाय पो दिइयोकि भन्ने आशंका पनि गरिएको छ । तर यी कुनै कुराको पुष्टि भने भएको छैन ।