अन्तर्राष्ट्रिय

बेलायतको कदम र डोनल्ड ट्रम्पको विजयलाई संकेत गर्दै ओबामाले दिए गम्भीर प्रतिक्रिया

एजेन्सी । विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिका रुपमा युरोप भ्रमणमा रहेका ओबामाले बुधबार ग्रीसबाट जर्मनीका लागि छुट्नुपूर्व एथेन्समा गर्नुभएको सम्बोधनमा विश्वव्यापीकरणको विश्व अभियानमा केही सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

हामीले देख्दा विश्वका धनी वर्ग तथा सम्पन्न निकायहरुले कर छली र कानुनका छद्म बाटाहरुलाई अवलम्बन गर्ने परिपाटी मौलाउदा समाजमा अन्यायको महसुस हुने गरेको छ र यसको अन्त्यका लागि नयाँ अभियानको आवश्यकता भएको राष्टपति ओबामाले बताए ।

आफ्नो युरोप भ्रमणका क्रममा राष्ट्रपति ओबामाले युरोप र अमेरिकी माटोमा सस्तो लोकप्रियताका लागि गरिने आन्दोलनले सफलता पाएजस्तो देखिएको बताए ।

बेलायत ईयूबाट बाहिरिने सवाल र अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयलाई सङ्केत गर्दै ओबामाले भने, विश्वले फरक बाटो हिँड्न लागेको अवस्थामा सतर्कताका साथ अतिराष्ट्रवाद, जातीय पहिचान वा हामी र तिनीहरु भन्ने विभाजित मानसिकतालाई नियन्त्रण गर्न पहल गर्नुपर्ने बताए ।