अन्तर्राष्ट्रिय

पाकिस्तानमा आए नयाँ प्रधानसेनापति, भारतसँगको सम्बन्ध अब यसरी अघि बढ्न सक्छ !

एजेन्सी–भारत र पाकिस्तानबीच काश्मिरको सवालमा तनाव उत्पन्न भैहरहेको बेला पाकिस्तानमा नयाँ सेना प्रमुख आएका छन् । यसअघिका सेना प्रमुख राहिल शरिफको कार्यकाल सकिएलगत्तै लेफ्टिनेन्ट जनरल कमर जावेद बाजवा पाकिस्तानको प्रधानसेनापति नियुक्त भएका हुन् ।

दुई देशबीच तनाव उत्पन्न भैरहेको बेला कार्यकाल सकिएका शरीफलाई प्रधानमन्त्री नवाज शरीफले निरन्तरता दिन्छन् वा अर्को कुनै व्यक्तिलाई अगाडि ल्याउँछन् भन्ने कौतूहलताकै बीचमा प्रधानमन्त्रीले बाजवालाई प्रधानसेनापति बनाएका हुन् ।

यद्यपि,प्रधानसेनापति शरीफको स्थानमा (सेना प्रमुखमा) आउनका लागि ४ जना जनरलहरुको नाम बाहिर आएको थियो, चारजनामध्ये प्रधानमन्त्री शरीफले बाजवालाई रोजेका छन् ।

प्रधानसेनापति हुनुअघि बाजवा पाकिस्तानी सेना मुख्यालयमा इन्स्पेक्टर जनरलको रुपमा कार्यरत रहेका थिए । पछिल्लो समयमा भारत र पाकिस्तानबीच भैरहेको द्धन्द्धलाई नजिकबाट नियालिरहेका बाजवा सीमामा सैनिक फौजलाई अभ्यास गराउने मध्येका एक कमाण्डर हुन् ।
भनिन्छ, पछिल्ला तीन वर्षयता पाकिस्तनामा चरमपन्थी हिंसामा केही कमी आएको छ, यसको नियन्त्रणमा बाजवाको ठूलो भूमिका रहेको छ ।

यता,पाकिस्तानी प्रधानसेनापतिमा बाजवा आएपछि भारतलाई हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने खुल्दुलीले समेत विश्वको ध्यान तानिरहेको छ ।

सेनाप्रमुख भएलगत्तै बाजवा कुनैपनि सञ्चारमाध्यामहरुमा आउन चाहेका छैनन् । सम्भवत, उनले भारतप्रति लिने नीति नफेरिन सक्ने समेत आंकलन गरिदैछ ।

अघिल्ला प्रधानसेनापति राहिल शरीफले लिएको नीति र पछिल्ला ६०–७० वर्षयता पाकिस्तान सरकारले लिँदै आएको फौजी रणनीतिलाई नयाँ प्रधानसेनापति बाजवाले निरन्तरता दिन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारत र पाकिस्तानबीच रहेको काश्मिरलाई हेर्ने फौजी रणनीति समेत नफेरिने पाकिस्तानी सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारत र पाकिस्तानबीचको सीमामा खटेका कमाण्डर

पाकिस्तानमा नयाँ प्रधानसेनापति आएसँगै भारतमा हंगामा मच्चिएको छ । भारत र पाकिस्तानबीचको द्धन्द्धलाई नजिकबाट नियालिरहेका जनरलनै सेना प्रमुख भएपछि सो हंगामा मच्चिएको हो ।

पाकिस्तानी सैनिक मुख्यालयमा सैनिक तालिम विभाग समेत हेरिसकेका बाजवा पाकिस्तानको सबैभन्दा महत्वपूर्ण सैनिक फोर्सको कमाण्ड गरिरहेका थिए । जसलाई पाकिस्तानी सेनाभित्र कार्प–१० फोर्स भनेर चिनिन्छ ।

यो महत्वपूर्ण फोर्स अहिले पाकिस्तान अधिनस्थ काश्मिरमा तैनाथ छ । अहिले पनि उनको कमाण्डमा रहेका पाकिस्तानी सेनाहरु दुई देशबीचको नियन्त्रण रेखा वरिपरि सर्च अप्रेसन गरिरहेका छन् ।

भारत र पाकिस्तानबीचको जारी द्धन्द्धलाई नजिकबाट नियाल्ने मात्र होइन विशेष फौजी योजनाकारका रुपमा समेत परिचित बाजवा सेना प्रमुख हुने बितिक्कै भारतमा भने हंगामा मच्चिएको हो ।