सूचना प्रविधि

समाचार कक्ष समावेशी हुनुपर्नेमा जोड

ललितपुर । नेपाल पत्रकार महासंघ, सञ्चारिका समूहलगायतका पदाधिकारीले समाचार कक्ष समावेशी हुनुपर्नेमा जोड दिएका छन् । सञ्चारिका समूहको २१ औँ साधारणसभा कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महिला पत्रकारको क्षमता बढाउन महासंघको समेत जोड हुने बताए । उनले भने, “हामी सञ्चारिका समूहसँग सहकार्य गरेर अघि बढ्न चाहन्छौँ ।” सञ्चार क्षेत्रको नीतिनिर्माण तहमा महिलाको समावेशी सहभागिता आवश्यक भएकामा उहाँको जोड छ ।

पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा महेन्द्र विष्टले महिला पत्रकारको संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि आवश्यक भएको औँल्याए । सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिलालाई अवसरसँगै चुनौती रहेको बताए ।

कार्यक्रममा समूहले क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्नाका साथै पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष र महिला पदाधिकारी, सदस्यलाई सम्मान गरेको छ । गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक नियुक्त हुनुभएकामा सञ्चारिका समूहका सल्लाहकार हरिकला अधिकारीलाई पनि सम्मान गरिएको छ ।

सञ्चारिका समूहको २१औँ साधारण सभाका अवसरमा चार पत्रकार महिला पुरस्कृत भएका छन् । सञ्चारिका समानता पुरस्कार–२०७३ बाट नेपाली टाइम्स साप्ताहिकका पत्रकार सिर्जना श्रेष्ठ र उमा सिहं पत्रकारिता पुरस्कारबाट बाराको रेडियो संस्कारमा कार्यरत पत्रकार रेणु चौधरी पुरस्कृत भएकी हुन् ।

समानता पुरस्कार श्रेष्ठले २०७३ साल असार १० गते नेपाली टाइम्स पत्रिकामा लेख्नुभएको ‘हर सेकेण्ड मनसुन’ शीर्षकको आलेखका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ । त्यसैगरी उमा सिंह पत्रकारिता पुरस्कार तराईमा रहेर पत्रकारितामा क्रियाशील भएकाले चौधरीलाई प्रदान गरिएको हो । पुरस्कारको राशि रु सात हजार १११ छ ।

त्यसैगरी सञ्चारिका समानता पुरस्कारबाट दोलखा जिल्लाबाट बिबिसी नेपाली सेवामा कार्यरत निराशी थामी र बाह्रखरी अनलाइनमा कार्यरत पत्रकार रुमु न्यौपाने पुरस्कृत भएकी छन् । सञ्चारिका समूहले पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा थप प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्नका लागि अक्षयकोषको स्थापना गरेको छ । अक्षयकोष हाललाई कम्तीमा रु तीन लाखको पु¥याउने लक्ष्य राखिएको समूहले जनाएको छ ।