पु.समाचार

यसबेला शीर्ष नेता को–कहाँ व्यस्त रहेका छन् ? यस्तो छ कार्यतालिका

काठमाण्डौ । निर्वाचनका क्रममा शीर्ष नेताहरु निकै व्यस्त देखिएका छन् । उनीहरु को कहाँ व्यस्त छन् ? यस्तो छ कार्यतालिकाः

कांग्रेस सभापति शेरबहादुर देउवा : कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा शुक्रबार पश्चिम लागेका छन् । शुक्रबार डोटी र अछामको कार्यक्रममा सहभागी भएका उनी १७ मंसिरदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामा रहनेछन् ।

एमाले अध्यक्ष केपी ओली : बुधबार झापा पुगेका ओली चार दिन आफ्नै क्षेत्र नम्बर ५ मा केन्द्रित हुनेछन् । आइतबार मोरङ–३ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने उनको कार्यक्रम छ ।

माओवादी अध्यक्ष प्रचण्ड : निर्वाचन नसकिएसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ नछाड्ने भएका छन् । उनले निर्वाचनको मौन अवधि सुरु नभएसम्म घरदैलो कार्यक्रमलाई नै निरन्तरता दिनेछन् ।

एमाले नेता माधव नेपाल : नेता नेपाल आफ्नै निर्वाचन क्षेत्र काठमाडौं २ मा केन्द्रित भएका छन् । उनी शुक्रबार र शनिबार कागेश्वरी मनोहरा र शंखरापुरमा घरदैलोमा सहभागी हुनेछन् । बिहीबार उनले साँखुमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

कांग्रेस नेता रामचन्द्र पौडेल : पौडेल शुक्रबारदेखि निर्वाचनको दिनसम्म आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ मा घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुनेछन् । उनले दमौली र भानु नगरपालिका तथा आबुखैरेनी गाउँपालिकामा घरदैलो कार्यक्रम गर्नेछन् ।

राप्रपा अध्यक्ष कमल थापा : राप्रपा अध्यक्ष थापा निर्वाचनको दिनसम्मै गृहजिल्ला मकवानपुरमै रहनेछन् । उनी मकवानपुर १ का साथै अन्य निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव : यादव आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ मै व्यस्त छन् । मौन अवधिसम्म हरेक राति यादवको चुनावी कार्यक्रमको सेड्युल बन्ने गरेको उनका सहयोगी अजय चौरसियाले बताए ।

महामन्त्री कोइराला आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहने : कांग्रेस महामन्त्री डा. शशांक कोइराला निर्वाचनसम्मै आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा व्यस्त रहने भएका छन् । उनले अबका दिन आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र कोणसभामा बिताउने स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ‘महामन्त्रीज्यू अब आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटमा बिताउनु हुन्छ,’ तिवारीले भने, ‘जिल्लाबाहिर जाने कार्यक्रम छैन ।’

निधि पनि आफ्नै निर्वाचन क्षेत्रमा : कांग्रेस नेता विमलेन्द्र निधि पनि बिहीबारदेखि धनुषास्थित आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । एक साता बिरामी भएर काठमाडौंस्थित ओम अस्पतालमा बिताएका निधि बुधबार गृहजिल्ला फर्केका थिए । अब आफ्नै निर्वाचन क्षेत्रमा आमसभा, घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहने उनका सहयोगी रामजी दाहालले जानकारी दिए ।

एमाले शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने
एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेताहरू बुधबारदेखि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुन थालेका हुन् ।

शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, दुई सातासम्म देशव्यापी चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहमा सक्रिय भएका अध्यक्ष ओली बुधबार झापा पुगेका छन् । बुधबार एकै दिन ओलीले झापाका दुईवटा भेलालाई सम्बोधन गर्नुका साथै मतदातासँग भेटघाट गरेका छन् । चार दिन आफ्नै क्षेत्रमा केन्द्रित हुन झापा झरेका ओली १७ मंसिरमा मोरङ–३ र चितवनमा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।

एमाले वरिष्ठ नेता नेपाल र खनाल पनि अफ्नै निर्वाचन क्षेत्रमै केन्द्रित भएका छन् । नेपालले बिहीबार काठमाडौं साँखुमा हुने सभालाई सम्बोधन गर्दै छन् भने खनाल पनि आफ्नै निर्वाचन क्षेत्र इलाममा घरदैलोसहितको अभियानमा व्यस्त छन् ।

एमाले नेताको पाँचदिने कार्यतालिका
केपी ओली

१३ मंसिर : दमकमा पूर्वाञ्चलस्तरीय खेलाडी भेला र महिला भेलालाई सम्बोधन
१४ मंसिर : बिर्तामोड, भद्रपुर र दुबेमा हुने सभालाई सम्बोधन
१५ मंसिर : झापा ५ मा घरदैलो र कोणसभा
१६ मंसिर : सुनसरीमा हुने सभालाई सम्बोधन
१७ मंसिर : मोरङ–३ को पुष्पलाल चोक र चितवनमा हुने सभालाई सम्बोधन

झलनाथ खनाल
१३ मंसिर : सूर्योदय नगरपालिकाको गोर्खेको आमसभालाई सम्बोधन
१४ मंसिर : रोङ गाउँपालिकाको पाटापुरमा हुने आमसभामा सम्बोधन
१५ मंसिर : माई नगपालिकामा बृहत् आमसभा
१६ मंसिर : सूर्योदय नगरपालिकाको पशुपतिनगरमा आमसभा
१७ मंसिर : श्रीअन्तुमा सभा
१८ मंसिर : फिक्कल बजारमा संयुक्त चुनावी सभा

माधवकुमार नेपाल
१३ मंसिर : कागेश्वरी मनोहरा–६ मा घरदैलो, साँखुमा किसान सभा
१४ मंसिर : कागेश्वरी मनोहरा–८ मा घरदैलो
१५ मंसिर : तय नभइसकेको
१६ मंसिर : कामनपा–३२, कागेश्वरी मनोहरा–९ मा घरदैलो
१७ मंसिर : कागेश्वरी मनोहरा ९ र शंखरापुरमा घरदैलो
१८ मंसिर : कोटेश्वरमा चुनावी सभा

गौतम र पोखरेल पनि आफ्नै क्षेत्रमा
एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल पनि चुनावी क्षेत्रमा नियमित घरदैलो, मतदाता भेटघाट र कोणसभाजस्ता कार्यक्रममै व्यस्त देखिएका छन् । गौतमले बुधबार बर्दियाको बाँसगढी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । बिहीबार, शुक्रबार र शनिबार पनि गौतम चुनावी क्षेत्रमै केन्द्रित हुने उनका सहयोगी दीपक टमटाले बताए । उता, महासचिव पोखरेल पनि चुनावी क्षेत्र काठमाडौं–५ मै केन्द्रित भएका छन् ।

निर्वाचनसम्म प्रचण्डसहित शीर्ष नेताले निर्वाचन क्षेत्र नछोड्ने
दोस्रो चरणको निर्वाचन नहुँदासम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुने भएका छन् । निर्वाचनको प्रचारप्रसार गर्ने समय जम्मा चार दिन मात्र बाँकी भएकाले माओवादी केन्द्रका नेताले धेरैजसो समय आफ्नैे निर्वाचन क्षेत्रमा बिताउने भएका हुन् । २१ मंसिरको निर्वाचनका लागि १८ गतेदेखि मौन अवधि सुरु हुँदै छ ।

महराले घरदैलोलाई प्राथमिकता दिने
दाङ–२ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरा आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । निर्वाचनसम्मै महराले आफ्नै निर्वाचन क्षेत्रको घरदैलो, भेला र भेटघाटमा बिताउने निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्माले बताए । मतदातासँग प्रत्यक्ष भेटेर मतदाताका कुरा सुन्दा प्रभावकारी हुने भएपछि यस्तो रणनीति अपनाएको उनको भनाइ छ ।

रायमाझीले जिल्ला नछोड्ने
अर्घखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी पनि निर्वाचनसम्म आफ्नै निर्वाचन क्षेत्रमा रहने भएका छन् । यो समय निर्वाचनका लागि एकदमै महत्वपूर्ण भएकाले आफ्नो निर्वाचन क्षेत्र नछोड्ने रायमाझीले बताए । अन्य उम्मेदवारजस्तै रायमाझीले कोण सभा, भेला, घरदैलो गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । आफू दैनिक बिहान ५ देखि राति ९ बजेसम्म निर्वाचन अभियानमा लागेको रायमाझीले बताए ।

परिणाम नआउँदासम्म मातृकाले निर्वाचन क्षेत्र नछोड्ने
धनुषा–१ का उम्मेदवार माओवादी केन्द्रका नेता मातृका यादवले निर्वाचनको परिणाम नआउँदासम्म आफ्नो निर्वाचन क्षेत्र नछोड्ने योजना बनाएका छन् । मतदानपछि गडबड हुन सक्ने भएकाले अति आवश्यक कामबाहेक अरू समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने यादवले बताए ।