धनगढी । कैलाली निर्वाचन क्षेत्र–१ प्रदेशसभा(ख)मा नेपाली कांग्रेसका डा रणबहादुर रावल नौ हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का नेपबहादुर चौधरीले आठ हजार ९०६ मत प्राप्त गरेका छन् । प्रदेशसभा(क)तर्फ राजपा नेपालका कृष्णबहादुर चौधरी १२ हजार १८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीले नौ हजार ३०८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रको प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा राजपाका रेशमलाल चौधरीले २३ हजार ६४४ मत प्राप्त गर्दा नेकपा(एमाले)की मदनकुमारी शाहले नौ हजार २६६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपनेले सात हजार ४५७ मत प्राप्त गरेका छन् ।
दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेर वारेसमार्फत उम्मेदवारी दिएका राजपाका चौधरी जीत नजिक पुगेको उहाँका समर्थकले जिकिर गर्न थालेका छन् ।
निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनामा भने एमालेका झपट रावलले १० हजार २७५ मत ल्याउँदा कांग्रेसका मोहनसिं राठौरले आठ हजार ३४३ मतसहित पछ्याइरहेका छन् । यस क्षेत्रको प्रदेशसभाको मतगणनामा वाम गठबन्धनका प्रत्याशीले अग्रता लिएका छन् ।