पर्यटन/संस्कृति

६९८ आरोही हिमाल आरोहणमा

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन् , भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ टिमका ८३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ४३ वटा टिमका ३३६ आरोही सगरमाथा आरोहणमा गएका थिए ।

सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताए ।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन् । यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन् ।