सूचना प्रविधि

सञ्चारकर्मीमाथि सरकारले गरेको दमनप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल तरुण दलले आज राजधानीको नयाँ बानेश्वरमा गरेको शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चाकरकर्मीमाथि सरकारले गरेको दमनप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ । शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलनमा क्रममा सरकारले गरेको निर्मम दमनबाट नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत सञ्चारकर्मी घाइते भएकोप्रति युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल प्रेस युनियनले सरकारद्वारा स्वतन्त्र प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना र घाइते भएका सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

नेपालको संविधानअनुसार स्वतन्त्र प्रेसको जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ । युनियन अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो घटनाले सरकार स्वतन्त्र प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको छ । साथै आगामी दिनमा स्वतन्त्र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन नेपाल प्रेस युनियन सरकारलाई चेतावनी दिन चाहन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाई बहुमतको दम्भमा लोकतन्त्रको बाटो बिराएर नेपाली प्रेसलाई दमन गर्न निरंकुश शैलीमा प्रस्तुत भएको प्रेस युनियनले जनाएको छ । नेपाल प्रेस युनियन नेपालको संविधानले प्रदत्त गरेका स्वतन्त्रपूर्वक लेख्न र समाचार सम्प्रेषण गर्न पाउने प्रेस स्वतन्त्रता तथा जनताको स्वतन्त्रतापूर्वक बोल्न एवं हिडडुल गर्न पाउने मौलिक अधिकारको हेक्का राख्न युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।