प्रदेश 2

बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा

राजविराज । गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ ।

बाढीले झण्डै तीन सय बिघामा लगाइएको धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो । कोशी बाँधभन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् । बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ । सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो । बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् । हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ ।