समाचार

बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।

बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताए ।

व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रुपान्तरण हुने यथार्थ औँल्याउँदै त्यसनिम्ति रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क विस्तार, ऊर्जाको र प्रविधिको अधिक उपयोगबाट मात्र सम्भव हुने बताए ।

क्षेत्रीय समृद्धि र विकासका लागि सदस्य देशबीच सघन सहयोग, सहकार्य र साझेदारी हुनुपर्छ भन्दै उनले सहयोगका प्राथमिकताका क्षेत्र पनि निर्धारण गर्नुपर्नेमा जोड दिए ।

सम्पर्क विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक उन्नयनका मुख्य क्षेत्रमा सङ्गठनका सहायताका क्षेत्र केन्द्रित हुनुपर्ने अभिमत मन्त्री ज्ञवालीले प्रकट गरे । विकासका अथाह सम्भावना भएको बिम्स्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास हुनुपर्ने उनले बताए ।

बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् । बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि.के सिंहले गरेका छन् ।

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिएको छ । बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेको छन् ।