आर्थिक

गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादबले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरे ।

नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिए ।

मेगा बैकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित भएको बताए । उनले स–साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी पनि दिए ।