खेलकुद

प्रधानसेनापति थापाद्वारा ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को उद्घाटन

काठमाडौं । जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को समुद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी देव कुमार सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

समारोहको प्रारम्भमा नेपाली सेनाको पृतना, बाहिनी र बिशेष फौज गरी सहभागी १४ वटा टिमले मार्च पाष्ट प्रस्तुत गरेका थिए । यसैगरि, उक्त समारोहमा फ्लेम प्रज्वलित गर्ने, बेलुन उडाउनु साथै ८ वटै पृतनाहरुको संयोजनमा फरक(फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी तथा नृत्यहरुको अतिरिक्त सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।

उक्त समारोहमा महिलाहरुको ४०० मिटर र पुरुषहरुको ८०० मिटर दौडको फाइनल खेल भई प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई प्रधानसेनापति थापाले पुरस्कार वितरण गरेका थिए ।

यस खेलकुद प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, कबड्डी, साईक्लिङ्ग र ह्याण्डबल विधाका खेलहरु समावेश गरिएको छ । आजबाट शुभारम्भ भई २०७५ असोज १९ गते सम्पन्न हुने यो खेलकुद प्रतियोगिता भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलवा छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछ ।

नेपाली सेनाका उत्कृष्ट खेल प्रतिभाहरुको पहिचान गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालबाट सुरु भएको ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त समुद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधानसेनापतिहरु, अन्य सुरक्षा अंगका प्रमुखहरु, रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतलगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।