खेलकुद

संविधान दिवसका अवसरमा हाफ म्याराथन

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

संविधान दिवस भव्यरुपमा मनाउने तयारीस्वरुप आउँदो असोज २ गते सो प्रतियोगिता हुने राष्ट्रिय खेलकूँद परिषद्का खेलकूँद प्रतियोगिता तथा योजना विभाग प्रमुख मीनकुमार शर्माले जनकारी दिए ।

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्लबका साथै अन्य गरी करीब १०० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुने म्याराथनमा पहिलो हुनेले रु ५० हजार, दोस्रोले रु ३० हजार र तेस्रोले रु २० हजार र चौथोेले रु १० हजार प्राप्त गर्ने जनाइएको छ ।

म्याराथन त्रिपुरेश्वरस्थित राखेप परिसरबाट शुरु भई त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, मीनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सिर्जनानगर, सल्लाघारी तीनकुने पुगी पुनः सोही मार्ग हुँदै त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुङ्गिनेछ ।

संविधान दिवसकै अवसरमा नेपाल रातो र नेपाल नीलो टिम बनाएर टी–२० मैत्रीपूर्ण क्रिकेट पनि खेलाइने प्रमुख शर्माले जानकारी दिनुभयो उक्त प्रतियोगिता असोज २ गते नै कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ ।

सरकारले संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा समेत मनाउने तयारी गरेको छ ।