पु.समाचार

मुलुक द्वन्द्वरत अवस्थामा नरहेको सरकारी वार्ता टोलीको निष्कर्ष

काठमाडौँ । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ । गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप परीत्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ ।

आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नभएको वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले उल्लेख गरे । “हामी के निष्कर्षमा पुग्याँै भने विगतमा भएका समूह अब राजनीतिक पार्टी र कुनै समूहको हैसियतमा छैनन् एकाध आपराधिक गतिविधि गरे पनि त्यो नितान्त उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति हुनेछ र अब कुनै पनि समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नरहेको हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,” उनले भने ।

संविधानबाहिरका राजनीतिक दल÷सशस्त्र समूहसँग भएका सहमति/सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१ ले अध्ययन गर्दा एक हजार १७६ व्यक्तिहरुलाई मुद्दा लागेको अवस्था थियो । वार्ताटोलीले अध्ययन गर्दा जम्मा ६०७ मुद्दा लागेका व्यक्तिको विवरण प्राप्त भएकोमध्ये कानूनबमोजिम फिर्ता लिन नसकिने मुद्दा ३२८ रहेको छ । कानूनबमोजिम फिर्ता वा माफिको प्रक्रिया अघि बढाउन सकिने प्रकृतिका मुद्दा २७९ रहेको छ ।

वार्तामा आएका समूहका द्वन्द्वको क्रममा मुत्यु भएकाको सङ्ख्या ९० र घाइते ४२ रहेको वार्ताटोलीले जनाएको छ । संयोजक पाण्डेका अनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ताटोलीले विस्तृत रुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफैँ समाप्त भइसकेकाले उनीहरुसँग वार्ता गर्नुपर्ने आवश्यकता छैन । बाँकी समूहसँग वार्ता गरी निःशस्त्र बनाएर केही हतियार पनि फिर्ता गरिएको छ । मधेशमा समूह खडा गरी विभिन्न गतिविधि चलाइरहेको सिके राउत समूह राजनीतिक प्रकृतिको नभएकोले वार्ता गर्नु नपर्ने टोलीको निष्कर्ष छ ।

विप्लव नेतृत्वको माओवादीसँग वार्ताका लागि ढोका खुल्ला भएको र उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दसँगै वार्ताटोलीले छलफल गरेर मात्र वार्ताका लागि औपचारिक पत्राचार गरिने वार्ताटोालीले उल्लेख गरेको छ । संयोजक पाण्डेले वार्ताका लागि दोस्रो तहका नेतासँग पटक पटक सकारात्मक छलफल भए पनि माथिल्ला नेताहरुको कुनै जवाफ नआएकाले वार्ताले सार्थकता पाउन नसकेको र पुनः वार्ताका लागि पहल भइरहेको जानकारी दिए ।

वार्ताटोलीले विगतमा सहमति÷सम्झौता गरेका र वार्तामा समावेश नभएका सबै समूहसँग औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । करीब चार महीनाको वार्ता अवधिमा विभिन्न २३ समूहसँग औपचारिक वार्ता गरेको थियो । तीमध्ये तीन समूहले आफ्नो हतियार बुझाएको र तीन समूहले निःशस्त्र भई मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको घोषणा गरेका थिए । द्वन्द्वरत एवम् विभिन्न पक्षसँग वार्ता गर्न सरकारले गत भदौ ८ गत मन्त्रिपरिषद्बाट पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न वार्ताटोली गठन गरेको थियो ।