सूचना प्रविधि

टेलिकम रनरअपको उपाधि जित्न सफल

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड मा रनरअपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्र मा सो उपाधि हासिल गर्न सफल भएको हो ।

मंगलबार (२०७६।०४।०७ गते) आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरेका छन् ।

सो अवार्ड आइक्यानले वार्षिक रुपमा प्रदान गर्दै आएको छ । वित्तीय र अन्य जानकारी तथा विवरणहरु वार्षिक रुपमा उत्कृष्ट रुपमा प्रस्तुतिकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिन्छ । आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।

नेपाल टेलिकमले यो भन्दा पहिले आर्थिक वर्ष २०६६।६७, २०६७।६८ र २०६८।६९ तथा २०७१।७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ ।

नेपाल टेलिकमले नेपालमै पहिलो पटक आर्थिक वर्ष २०७१।७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरु प्रस्तुत गर्दै आएको छ ।