काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा विशेष क्षमता हुने बताउँदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताएका छन् । राजधानीमा सोमबारदेखि आरम्भ भएको एशियाली बौद्धिक अपांगहरुको सम्मेलनको मंगलबार समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
“हरेक अपांगहरुमा विशेष क्षमता हुन्छ, त्यसलाई पहिचान गरेर व्यक्तित्व विकासको अवसर दिने हो भने उनीहरुले पनि हाम्रो समाजलाई निकै ठूलो योगदान दिन सक्छन ।” सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “तपाईले स्टेफन हकिङको नाम सुन्नुभएको छ, उहाँले ब्ल्याकहोलको सिद्धान्तको प्रतिप्रादन गर्नुभयो, उहाँ अपांग हुनुहुन्थ्यो ।”
उपराष्ट्रपति पुनले नेपालको संविधानले फरक क्षमता भएका(अपांग) नागरिकहरुको संरक्षणको समुचित व्यवस्था गरेको र संविधानले उनीहरुलाई दिएका संरक्षणात्मक अधिकारको उपयोग गर्ने सम्बन्धमा सरकारले पनि सामाजिक सुरक्षा र कल्याणका विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको बताउदै भने, “संविधानका अक्षर र भावनालाई कार्यान्वयन गर्न राज्यका निकायसँगै नागरिक समाज र सामाजिक क्षेत्र मिलेर काम गर्नुपर्दछ ।”
उपराष्ट्रपति पुनले सम्मेलनबाट पारित प्रस्तावहरु बौद्धिक अपांगता भएका व्यक्तिहरुको लागि मात्र नभएर उनीहरुको हकहित र कल्याणका कार्यक्रम गर्न चाहने विश्वका सबै देशका सरकार र नागरिकहरुका लागि उत्तिकै उपयोगी हुने विश्वास समेत व्यक्त गरे।

समुद्घाटन समारोहमा एशियाली बौद्धिक अपांग महासंघका अध्यक्ष डा.सच्चिदानन्द श्रीवास्तवले बौद्धिक अपांगता भएका बालबालिकाहरुको हेरचाह, शिक्षा, स्वास्थ्योपचार, तालिम र जिविकोपार्जनका क्षेत्रमा एशियामा भएका प्रयासहरुबाट एकापसमा ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्न यो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
समुद्घाटन कार्यक्रममा राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्थाका अध्यक्ष मुक्तिनाथ अधिकारीले बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई विशेष खालको हेरचाह आवश्यक भएको बताउँदै यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सम्मेलनले बौद्धिक अपांगता भएका व्यक्तिहरुको हेरचाह, शिक्षा, स्वास्थोपचार, तालिम र जीविकोपार्जनका क्षेत्रमा देखिएका समस्या, तिनको समाधानका लागि गरिनुपर्ने कार्यलाई समता, समानता र समावेशिताका मूल नारामा समेटेर सम्मेलनको आयोजना गरिएको बताए ।
कार्यक्रममा सम्मेलनको प्राविधिक समितिका संयोजक तथा प्रा. डा. बासुदेव काफ्लेले सम्मेलनमा प्रस्तुत हुने राष्ट्रिय प्रतिवेदनहरु, सम्मेलनका शत्रहरु, कार्यपत्र र घोषणापत्रका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा बौद्धिक अपांगता भएका व्यक्तिहरुको तर्फबाट शशिबाबु तिवारीले उपयुक्त हेरचाह, शिक्षा र तालिम प्राप्त गरेकोले आफूले व्यक्तित्व विकास गरी आत्मनिर्भर भई जीविकोपार्जनमा सक्षम हुनपाएकोमा गर्वको अनुभूति भएको उल्लेख गर्दै बौद्धिक अपांगता भएका व्यक्तिलाई उपयुक्त अवसरको मात्र खाँचो रहेको बताए ।
कार्यक्रममा उपयुक्त हेरचाह,शिक्षा र तालिमप्राप्त बौद्धिक अपांगता भएका व्यक्तिहरुले सपाड.्ग व्यक्तिहरुसंग वैवाहिक बन्धनमा बाँधिएर सफलतापूर्वक गृहस्थ जीवनमा प्रवेश गरेका नमूना जोडीहरुलाई उपस्थित गराएर कदर पनि गरिएको थियो ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका बौद्धिक अपांगता भएका व्यक्तिहरुको सम्बन्धमा प्रकाशित हुने जर्नलका सम्पादक दायगु विश्वविद्यालय कोरियाका प्राध्यापक योंग वुक किमले पनि सम्बोधन गरेका थिए ।
सम्मेलनको उद्घाटन शत्रमा बौद्धिक अपांग भएका व्यक्तिहरुको कल्याणमा उत्कृष्ट काम गर्ने नेपाल, सिंगापुर र फिलिपिन्सका संस्थाहरुलाई १/१ लाख येनको पुरस्कार पनि प्रदान गरिएको थियो ।





