२५ असार, जनकपुरधाम । मिटरब्याज पीडितहरूले जनकपुरधामबाट काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन्। जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट ६ बुँदे मागसहित उनीहरूले काठमाडौं यात्राको सुरुवात गरेका हुन्।
गत माघ ४ गते यही स्थानमा आयोजित कार्यक्रममा तत्कालीन अभियानकर्ता तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितले अधिकारका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएका थिए। तर आफूहरूको समस्या समाधान नभएपछि बाध्य भएर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेको पीडितहरूले बताएका छन्।
‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल’ को ब्यानरमा सुरु भएको मार्चमा सहभागीहरूले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन्।
पीडितहरूले मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन र चेकलगायतका फर्जी लिखत खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्ने तथा छिटो न्यायका लागि विशेष न्यायाधिकरण गठन गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै, साहु–महाजनले अवैध रूपमा आर्जन गरेको सम्पत्तिको छानबिन गरी कारबाही गर्नुपर्ने, पीडितको सम्पत्ति फिर्ता गराउनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र साना व्यवसायी तथा आर्थिक रूपमा कमजोर वर्गका लागि सहज ऋण व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष कुशवाहाले सरकारले पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए।
उनले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। पीडितहरू दैनिक २० देखि २५ किलोमिटर पैदल यात्रा गर्ने र बाटोमा अन्य पीडितहरू पनि अभियानमा जोडिँदै जाने बताइएको छ।





