समाचार

शीतलहरले जनजीवन प्रभावितः चिसो बढेपछि विद्यार्थीको उपस्थिति घट्यो

राजपुर । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।

शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।

चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान÷बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए ।

शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकले बताएका छन् । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुर्याएको स्थानीयवासी कृषक जयराम चौधरीले बताएका थिए ।

यसैबिचः एक÷डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ । ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् ।

चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको वडा नं ४ सल्ले, मलबाँसे बोलुङखा क्षेत्रका विद्यालयका तल्ला तहका कक्षका विद्यार्थीको उपस्थितिको सङ्ख्या ५० प्रतिशतभन्दा बढीले घटेको रौता जनता मावि सल्लेका प्राचार्य लक्ष्मी घिमिरे बताउछन् ।

चिसो बढ्न थालेपछि विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएका कारण पनि घरमै बस्न थालेका पञ्चकन्या आधारभूत विद्यालय रौता हात्तीपाइलेका शिक्षक घनश्याम राईले बताए । जिल्लाको तराई क्षेत्रको त्रियुगाको जोगीदह र खैजनपुर तथा चौदण्डी नगरपालिकाको जनता मावि हँडिया, सुन्दपुर मावि सिवाइ र बेलका क्षेत्रमा समेत चिसो बढेसँगै तल्ला कक्षाका विद्यार्थीको उपस्थिति न्यून हुन थालेको शिक्षक बताउँछन् ।

बिहान अबेलासम्म हुस्सु लाग्ने र निकै चिसो बढ्दै गएका कारण साना नानी विद्यालय जान नमान्ने र चिसोका कारण नसक्ने अवस्थासमेत रहेको चौदण्डी–३ हँडियाका कमलनारायण चौधरी बताएका छन् ।

अहिले ह्वात्तै चिसो बढेका कारण जिल्लाका केही विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा पठनपाठनमा प्रभाव पर्न थालेको राष्ट्रिय जनता मावि त्रिनपा बगाहाका शिक्षक अर्जुन खड्काले बताएका छन् ।

जङ्गली हात्तीले ३६ घर भत्कायो

पन्ध्र दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ । पन्ध्र दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको र स्थानीयवासीको झण्डै पचासौँ मुरी धानसहितका अन्नसमेत खाइदिएको आम्बासीका दुर्गाप्रसाद खनालले बताए ।

यस्तै चौदण्डीको हँडिया र सुन्दरपुर क्षेत्रमा जङ्गली हात्तीले सात घर भत्काएको छ भने २५ मुरीभन्दा बढी भकारीको धानसमेत नष्ट गरिदिएको हँडियाका देवीलाल चौधरीले बताएका छन् ।

त्रियुगाका वडा नं १ जोगिदह, २ को मोथ्याई, खैजनपुर, वडा नं ३ को चाप, ४ को बगाहा र वडा नं ५ को चुरेक्षेत्रको श्रीपुर क्षेत्रमा १७ घर हात्तीले भत्काइदिएको छ भने अन्नबालीसमेत खाइदिएको श्रीपुरका पिडीत लक्ष्मण काफ्लेले बताए ।