खेलकुद

टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने रहेको जमैका तलावाजको विजयी सुरुवात

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने रहेको जमैका तलावाजले विजयी सुरुवात गरेको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले सुखद सुरुवात गरेको हो ।

सेन्ट लुसियाले दिएको १ सय ५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पुरा गर्यो । जमैकाको जितमा आसिफ अलिले अविजित ४७ रन बनाए । यस्तै ग्लेन फिलिप्सले ४४ तथा रोभम्यान पोवेलले २६ रन बनाए । कार्लोस ब्रेथवेटले अविजित १८ रन जोड्दा आन्द्रे रसेलले १६ रन बनाए ।

सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै नाजिबउल्लाह जाड्रनले २५ रन जोड्दा आन्द्रे फ्लेटचरले २२ रन बनाए ।

मार्क डियलले १७ तथा मोहमद नाबीले १३ रन जोडे । जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले २र२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिए । आन्द्रे रसेलले पनि एक विकेट लिए । जितसँगै जमैकाले १ खेलमा २ अंक जोडेको छ । जमैका तालिकाको शीर्ष स्थानमा रहेको छ । जमैकाले अब ट्रीनबागो नाइट राईडर्ससँग खेल्नेछ ।