आर्थिक

पहिराका कारण छाप भञ्ज्याङका ६५ घर जोखिममा

साँखु, १५ भदौ । पहिराका कारण शङ्खरापुर नगरपालिका– १ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो ।

स्थानीय गोपाल ढकालका अनुसार– पाँगो माटो भएको ५० रोपनी जग्गा तल भासिँदै गएकाले बस्ती जोखिममा परेको हो । यसैगरी सहायक राजमार्गका रुपमा रहेको सडकखण्ड पनि तीन फिट भासिएको छ ।

समयमै यसको रोकथाम तथा सडकको मर्मत गर्न उनले आग्रह गरेका छन् । तत्काल रोकथामको पहल नगर्ने हो र सडकको अवस्थाको सुधार नगर्ने हो भने यहाँका स्थानीयले यातायात सञ्चालनसमेत गर्न नपाउने तथा सडकसँगको सम्बन्ध नै टुट्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

पहिरोले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको सिमानामा रहेको दुर्गम बस्ती केराबारी जाने बाटोसमेत भासिएको छ । उक्त सडकखण्डमा अहिले मोटरसाइकल समेत जानसक्ने अवस्था छैन । स्थानीय तहको उपभोक्ता समितिले विनाप्राविधिक आफूखुशी स्काभेटरको प्रयोग गरी जथाभावी सडक खनेका कारणले पनि समस्या आएको बताइएको छ ।

शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा हुँदै सिन्धुपाल्चोक मेलम्ची जोड्ने सडकखण्डको अवस्था पनि निकै दयनीय छ । स्थानीय सरकारको बेवास्थाका कारण सो सडकखण्डको अहिलेसम्म उचित मर्मत हुन सकेको छैन ।

साना तथा ठूला सवारीसाधन गरी दिनहुँ सयौँ सङ्ख्यामा गुड्ने सवारीसाधन आवतजावतमा निकै कठिनाइ हुने गरेको छ । बस्ती र सडक जोखिममा परेको गुनासो पछि शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ उक्त क्षेत्रमा अनुगमनका लागि पुगेका थिए ।

उनले स्थलगत निरीक्षणपछि उक्त बस्तीकोे भू–बनोट हेर्दा भूगर्वविद् ल्याएर अध्ययन गर्नुपर्ने रहेको जानकारी दिएको छन् । भूक्षय नियन्त्रण तथा पहिरो रोकथामका लागि तत्काल समन्वयन गरी थप क्षति हुन नदिन पहल गर्ने उनले बताए ।